काठमाडौं । ब्राजिली स्टार नेयमारकाे एसीएल सल्यक्रिया पश्चातको अवस्था सुधारोन्मुख देखिएको छ ।
नेयमारको उपचारमा संलग्न चिकित्सकका अनुसार उनले चोटसँग राम्रो प्रतिक्रिया जनाएका छन् । तर अल हिलालका फरवार्ड कहिले मैदान फर्कन्छन् भनेर एकिन भने छैन ।
३१ वर्षका फरवार्डले फुटबलरमा निकै जटिल मानिने एसीएल सल्यक्रिया गरेका थिए । अघिल्लो महिना विश्वकप छनोटको दौरान उरुग्वेविरुद्धको खेलमा उनले चोट बोकेका थिए । नेयमार पुन एक जटिल सल्यक्रियाबाट गुज्रिन परेको छ ।
एसीएलको सल्यक्रिया निको हुन सामान्यतया कम्तिमा ८ देखि १० महिना लाग्ने गर्दछ ।

ब्राजिली टिमका चिकित्सक रोड्रिगो लास्मारले नेयमार पूर्ण फिट हुनका लागि निकै प्रतिबद्ध देखिएको बताएका छन् । सल्यक्रिया पश्चात उनले निकै सुधारोन्मुख प्रतिक्रिया देखाईरहेका छन् ।
‘उनले सुरुवातदेखिनै हामीले भने अनुसार गरिरहेका छन् । उनले हाम्रो प्रस्तावको पालना गरेका छन् ।’ लास्मारले भनेका छन् ।
उरुग्वेसँग २–० ले पराजित बनेको खेलमा नेयमारलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।
नेयमार यसै समरमा ९० मिलियन युरोमा पेरिस सेन्ट जर्मेन पीएसजीबाट साउदी प्रो लिग अल हिलालमा आबद्ध भएका थिए । मांसपेशीको चोटका कारण उनले मात्र ५ खेलमा मैदानमा उत्रिएका थिए ।