काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले आफुहरु लाओसविरुद्ध बराबरीका लागि नखेलेको बताएका छन् । विश्वकप छनोटमा लाओसविरुद्ध कीर्तिमानी १३ गोल गरेका अन्जनले आफुहरु जितका लागि मैदान उत्रिएको बताएका छन् ।
‘दर्शकहरुलाई सरी भन्न चाहन्छौं । हामी जितका लागि खेलेको हौं, बराबरीका लागि हैन ।’ उनले भने, ‘हाम्रो कमजोरीले गर्दा गोल खाएका थियौं । दशैंको उपहार दिन खोजेका थियौं । तर दोस्रो लेगको खेलमा हामी गोर्खाली शैलीमा खेल्नेछौं ।’ अन्जनले भने ।
नेपालले विश्वकप छनोटको पहिलो लेगको खेलमा घरेलु मैदानमा लाओससँग बराबरी खेलेको थियो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको हो ।
फरवार्ड अन्जनले आफु कीर्तिमान बराबरी गर्नका लागि नखेलेको समेत बताए ।
बिहीबार नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १३ गोल गर्ने हरी खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका अन्जनले भने, ‘रेकर्ड बराबरी गर्न खेलेको थिएन । मैले अझै धेरै खेल्न बाँकी छ । टिमको जितका लागि खेल्ने योजना हो । गोल कसले गर्छ भन्ने कुरा अर्थ राख्दैन । खेल नजित्दा मलाई धेरै खुसी लागेको छैन ।’
उनले नेपाली खेलाडी विदेश गएपनि राष्ट्रिय फुटबल टिम कहिल्यै कमजोर नहुने समेत बताए । ‘कालो गए गोरो आउँछ । प्रशिक्षकले कोशिश गरिराख्नु भा छ । हामी बामे सर्दैछौं । पहिले भन्दा धेरै राम्रो हुन सक्छ ।’ विष्टले थपे ।
प्रशिक्षक भिसेन्जो अल्बर्टो अनेसेले दोस्रो हाफमा राम्रो खेलेपनि पहिलो हाफमा प्राविधिक गल्तीहरु गर्न पुगेको बताए । ‘हामीले अवसरपनि सिर्जना गर्यौ । लाओसले राम्रो खेल्यो । नतिजा निराशाजनक हो । लाओस गएर जित्ने कोशिश गर्नेछौं ।’ उनले भने ।