काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले म्यानमारसँग आज (सोमबार) दोस्रो मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । म्यानमारको राजधानी यानगोङ्गमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवाँ ४ बजे सुरु हुनेछ ।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग गोल रहित बराबरी खेलेको थियो । अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल जितबाट बिमुख बनेको थियो ।
राष्ट्रिय टिमका प्रभावशाली फरवार्ड अन्जनलाई नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर म्यानमारविरुद्ध रहेको छ । म्यानमारविरुद्ध कम्तिमा एक गोल गरेको खण्डमा अन्जनलाई नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमानी बराबरी गर्ने अवसर प्राप्त छ ।
नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो । फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ ।
प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश युवा खेलाडी र केही सिनियर खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिमलाई तयार गरेका छन् । पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टिमले म्यानमारविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।