इलाम। छैटौं संस्करणको अन्तर्राष्ट्रिय भरौल गोल्डकपमा राष्ट्रिय जागृती क्लब इटहरी सेमिफाइनल प्रवेश गरेको छ ।
सुनसरीको बराहक्षेत्रमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा एन्फा मोरङलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै इटहरीले अन्तिम ४ मा स्थान बनाएको हो ।
निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा राष्ट्रिय जागृतीको तर्फबाट प्रवेश दनुवार, सुमित चौधरी, विजय राई, उमेश कार्कीले गोल गरे ।
रमेश राजवंशीको प्रहार मोरङका गोल रक्षक प्रमञ्जय गच्छदारले रोके । मोरङको तर्फबाट कोमल खवास, विशाल पाण्डे र गोलकिपर प्रमञ्जयले गोल गर्दा सागर खड्का र विल्सन गिरी गोल गर्न असफल रहे ।
खेलको म्यान अफ दि म्याच राष्ट्रिय जागृतीका युसुफ थपलिया घोषित हुँदै नगद ५ हजार पाए । प्रतियोगिता अन्तर्गत बिहीबार आयोजक न्यु स्टार र भारतको कञ्चनजंगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।
चैत्र २२ गते सम्म चल्ने प्रतियोगितामा दुई भारतीय क्लबसहित ८ टिम सहभागी छन् । कुल ५५ लाख ५१ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिनेछ । दैनिक म्याच अफ द म्याच हुनेलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।