काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले स्पेनिस क्लब बार्सिलोनामाथि लागेको भ्रष्टाचारको आरोपमा छानबिन गर्ने भएको छ ।
बार्सिलोनामाथि रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई गरेको भुक्तानीमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
युईएफएले बार्सिलोनामाथि लागेको आरोपमा छानबिन गर्न एक समिति गठन गरेको छ ।
गत महिना बार्सिलोनाले रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया र उनको स्वामित्वमा रहेको कम्पनिलाई ८.४ मिलियन युरो भुक्तानी गरेको खुलासा भएको थियो । बार्सिलोनाले २००१ देखि २०१८ को बीचमा उक्त भुक्तानी गरेको थियो ।
बार्सिलोनाको सरकारी वकिलको कार्यालयले उक्त भुक्तानीविरुद्ध मुद्दा दायर गरेको थियो । र, बार्सिलोनाको एक अदालतले भ्रष्टाचार, विश्वासको उल्लङ्घन र झुटो व्यापार रेकर्डको आरोपमा दोषी ठहर गरेको थियो ।
बार्सिलोनाले भने आरोप अस्विकार गरेको छ ।