काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज बुधबार लाओसको सामना गर्नेछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।
पुरस्कार राशी ?
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।
टिकट मूल्य ?
एन्फाले प्रतियोगिताका लागि दुई फरक टिकट मूल्य राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।
टिकट कहाँ किन्ने ?
टिकट खल्ती एपबाट किन्न सकिनेछ । एन्फाले टिकेटिङ पार्टनरको रुपमा खल्तीसँग सम्झौता गरिसकेको छ । रंगशालाको गेटमा भौतिक रुपमा समेत टिकट किन्न सकिनेछ ।
लाईभ ?
प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्नेछ । प्रतियोगिताको मार्केटिङ र ब्रोडकाष्टिङ अधिकार पाएको एमडीएसी स्पोर्ट्स प्रालिले प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने जनाएको छ ।