काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बुधबार लाओसको सामना गर्दैछ ।
आयोजक नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसको सामना गर्नेछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपालले करिब ७ वर्षपछि लाओसविरुद्ध खेल्न लागेको हो । नेपालले पछिल्लो पटक २०१६ मा लाओससँग खेलेको थियो ।
फिफा वरीयतामा नेपाल लाओस भन्दा अघि रहेको छ । नेपाल १७५ औं स्थानमा रहेको छ । लाओस १८७ औं स्थानमा रहेको छ ।
हेड टु हेड -
एसियाली प्रतिद्वन्दी लाओस नेपालका लागि नौलो टोली हैन । नेपालले यस अघि दुई पटक लाओससँग प्रतिस्पर्धा गरिसकेको छ । जसमा नेपालले लाओसविरुद्ध हार व्यहोर्नु परेको छैन ।
नेपालले सन् २०१६ मा पहिलो पटक लाओसविरुद्ध खेलेको थियो । २०१६ को मे १६ मा नेपालले पहिलो पटक लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले लाओससँग १-१ गोलको बराबरी खेलेको थियो ।
नेपालले दोस्रो पटक २०१६ कै नोभेम्बर १२ मा लाओसविरुद्ध खेलेको थियो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले दोस्रो पटक लाओससँग प्रतिस्पर्धा गरेको थियो । जसमा २-२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३-० ले खेल जितेको थियो।
लाओसविरुद्ध नेपालको यो तेस्रो भेट हो । नेपाल आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । लाओस भने अघिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।