धनगढी । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले छैटौं संस्करणको अन्तराष्ट्रिय मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको टिकेटिङ पार्टनरको रुपमा माईपेसँग सम्झौता गरेको छ ।
सुदूरपश्चिम ११ स्पोर्टस क्लबले मंगलबार प्रतियोगिताको टिकेटिङ पार्टनरको रुपमा माईपेसँग सम्झौता गरिएको जनाएको छ ।
सम्झौता पत्रमा खप्तडको मार्केटिङ तथा ब्रोडकाष्टिङ अधिकार पाएको कखरा ईभेन्टका सिईओ हिम बिक्रम केसी र माईपेका बिजिनेस एण्ड मार्केटिङ म्यानेजर रोशन सिग्देलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सञ्चालित प्रतियोगिता चैत ९ गतेदेखि १८ गतेसम्म सञ्चालित हुदैछ । प्रतियोगितामा सहभागी हुने ६ 'ए' डिभिजन , २ विदेशी र अन्य दुई टिमको टुङ्गो लगाएको हो ।
धनगढी रंगशालामा हुने प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, खुमलटार एफसी, बागमती युथ क्लब, आयोजक सुदूरपश्चिम ११, जर्जियन फुटबल क्लब, एभिनिर एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ र विधागत तर्फको उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उदयीमान खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।