काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा नेपाल लाओसविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने योजनासहित मैदान उत्रनेछ ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन् ।
'छोटो समय भएपनि तयारी राम्रो छ । भोलिको खेलका लागि तयार छौँ । राष्ट्रका लागि राम्रो नतिजाका लागि फाइट गर्छौं,' मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तान किरणले भने ।
प्रतियोगिताका लागि नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अन्गल्बर किरणको कप्तानीमा २३ सदस्सीय टिम घोषणा गरिसकेका छन् । एनीसले घोषणा गरेको टोलीमा ६ जना नयाँ खेलाडी छन् ।

नयाँ प्रशिक्षक र नयाँ खेलाडीको कारण टोलीका लागि चुनौती भएपनि त्यसलाई स्वीकार गरेर अघि बढेको कप्तान किरणले बताए ।
'तयारी छोटो भयो । नयाँ टिम छ । नयाँ प्रशिक्षक छन् । त्यसैले चुनौती छ । यसलाई स्वीकार गरेर अघि बढेका छौँ । सफल भईन्छ,' उनले भने, 'हामीले एक अर्कालाई विश्वास गरेका छौँ । टिमका खेलाडी फिट छन् ।'
मुख्य प्रशिक्षक एनीसले प्रतियोगिताका लागि आफुले उत्कृष्ट खेलाडी छनोट गरेको बताए । उनले तयारी राम्रो भएको समेत बताए ।
'तीन दिन तयारी गर्यौं । राम्रो तयारी भयो । हामीसँग धेरै युवा खेलाडी छन्,' उनले भने, 'लिगबाट हामीले उत्कृष्ट खेलाडी छनोट गरेका छौँ ।'
एनीसले विपक्षी टिमको गुण आफुले देखेको र आफ्नो टिमको गुण समेत जानकारी भएको बताए ।
नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २-२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३-० ले खेल जितेको थियो।

लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि खेल्ने बताए ।
'प्रतियोगिता आयोजना गरेकोमा नेपाललाई धन्यवाद । हामीसँग युवा टिम छ । भविष्यका लागि टिम बनाईरहेका छौँ,' उनले भने,' लिगले गर्दा तयारी कम भयो । हामी राम्रो नतिजाका लागि खेल्छौं ।'
लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।
भुटानका मुख्य प्रशिक्षक पेमाले प्रतियोगिताका लागि २ महिनाबाट तयारी गरेको बताए । उनले अन्य टोलीको जस्तो आफ्नो टोलीको लक्ष्य पनि उपाधि रहेको बताए ।
'हाम्रो तयारी निकै राम्रो भएको छ । २ महिनाको तयारी छ । खेलाडीहरु फिट छन् । उनीहरुले शतप्रतिशत खेल्छ भन्ने लागेको छ,' उनले भने, 'अन्य टोलीले उपाधिलाई लक्ष्य बनाएका छन् । हाम्रो पनि त्यहि हुनेछ ।'
भुटानी कप्तान चेन्चो ग्याल्सेनले प्रतियोगिताका लागि आफु उत्साहित रहेको बताए ।

प्रतियोगिताबारे -
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।
पहिलो खेलमा नेपालले लाओससँग बुधबार खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।
प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने भएको छ ।
प्रतियोगिताको मार्केटिङ र ब्रोडकाष्टिङ अधिकार पाएको एमडीएसी स्पोर्ट्स प्रालिले प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने जनाएको छ ।