इटहरी । अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली रोलिङ क्लब धुलाबारीसँग प्रतिस्पर्धा गर्दैछ ।
रोलिङका लागि आजको खेल गत संस्करणको पराजयको बदला लिने अवसरको रुपमा समेत हेरिएको छ । १२ औं संस्करणको उपाधि होड प्रवेशमा आर्मीले रोलिङमाथि जित निकालेको थियो ।
आर्मी शहिद स्मारक ए डिभिजन लिग टोली हो भने रोलिङ क्लब एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको टिम हो ।
दुवै टोलीसँग ए डिभिजन लिगको अनुभव बटुलेका खेलाडी हुनेछन् । आर्मी इटहरीको मैदानमा भाग्यमानी टोली समेत हो ।
गत संस्करणमा उपविजेता बनेको आर्मी २०७५ को संस्करणको बिजेता टोली समेत हो । लिगमा उत्कृष्ट प्रर्दशन गर्न नसकेपनि आर्मीले मोफसलको गोल्डकप प्रतियोगितामा राम्रो प्रर्दशन गरिरहेको छ ।

गत महिना झापामा सम्पन्न भद्रपुर झापा गोल्डकपमा आर्मीको दोश्रो रोजाईको टोलीले मछिन्द्रलाई हराउँदै उपाधि चुमेको थियो । बागमतीमा आर्मी हिमालयन शेर्पासंग पराजित भएकाे थियाे ।
आर्मीको टोलीमा विकेश कुथु, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, दिपक गुरुङ, सेसेहाङ आङदाम्बे, सुदिल राई, टेकबहादुर बुढाथोकी लगायतका खेलाडी हुनेछन् ।
यता झापाली क्लबले ३ जना अफ्रिकी खेलाडीहरुलाई टिममा समेटेको छ । मनोज प्रधानको कप्तानीमा उत्रिने टोलीमा अमेरिकन बिवाईएएसी क्लबका एक जना खेलाडीलाई टिममा समेटेको छ ।
एक समय मोफसलको गोल्डकपमा एक छत्र राज गरेको आर्मी विस्तार कमजोर हुँदै गएकाले रोलिङलाई जित निकाल्न सहज हुने अपेक्षा राखिएको छ । अर्को तर्फ आर्मी प्रतिद्धन्द्धी अनुसारको खेल देखाउन माहिर मानिन्छ । खेप (खेल पारिश्रमिक) का खेलाडीहरुले भरिएको छ रोलिङ ।