काठमाडौं । विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक विराट गोल्डकप ट्रस्टले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
विराटनगरको सहिद रंगशालामा रात्रीकालिन समयमा आयोजना हुने प्रतियोगिता चैत ९ गतेदेखि १७ गतेसम्म हुनेछ ।
शहीद रंगशालामा रात्रिकालिन प्रतियोगिताका लागि मैदान मर्मत गर्ने काम सकिएको र प्यारापिट लगाएतका कामहरु पनि पूरा भइसकेको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा ८ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित २ विदेशी वटा क्लबहरुले पनि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब रहने छन् । भारतको केरलामा रहेको लुका सकर क्लब र ड्रुक लयुल फुटबल क्लब भुटानले सहभागिता जनाउने छ ।
यस वर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । गत संस्करणको विजेता एपीएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले ७ लाख ५१ हजार प्राप्त गरेका थिए ।
यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् । प्लेयर अफ दी म्याचले ११ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।