काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अझै श्रम स्वीकृति पाउन सकेका छैनन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत फागुन १७ गते इटालियन प्रशिक्षक एनीसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
तर, नियुक्त भएको एक महिना पूग्न लाग्दा समेत एनीसले श्रम स्वीकृति पाउन सकेका छैनन् ।
एन्फाका बरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काले भने एनीसको श्रम स्वीकृति प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
'उहाको श्रम स्वीकृति प्रक्रिया अन्तिम स्टेजमा पुगेको छ। भोलिसम्म आईपुग्छ,' सोमबार आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, 'एन्फाले नियुक्त गरिसकेपछि समस्या हुँदैन ।'
उनको श्रम स्वीकृतीको व्यवस्थाका राष्ट्रिय खेलकुद परिषदबाट प्रक्रिया अघि बढिसकेको खड्काले बताए ।
एन्फाले एनीसलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
३८ वर्षीय अनुभवी प्रशिक्षक एनीस यस अघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए ।
यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए ।
उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसकेका छन् ।
एनीसको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्नेछ।