काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् ।
भुटानी टोली सोमबार बिहान नेपाल आईपुगेका हुन् । भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । लाओसको टोली सोमबार नै नेपाल आईपुग्ने छन् ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।
त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।
प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।
यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।