इटहरी । १३ औ संस्करणको इटहरी गोल्डकपमा ए डिभिजन च्याम्पियन मछिन्द्र क्लबले पाहुना टोली भारतको कञ्चनजंघा एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
जारी सिजनमा लिगमा मछिन्द्रको प्रर्दशन सन्तोषजनक छैन् । लिगको पाँचौ चरणको खेल सम्पन्न हुँदा मछिन्द्रले १ खेलमा मात्र विजयी हासिल गरेको छ । २ खेल बराबरी र २ पराजय भोगेको छ ।
इटहरीको मैदानमा आज मछिन्द्र स्टार खेलाडी बिना उत्रिनेछ । त्रिदेशिय फुटबलका कारण राष्ट्रिय टोलीमा रहेका मछिन्द्रका खेलाडी प्रादेशिक रंगशालामा हुने छैनन् ।
कप्तान सुजल श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङ, छिरिङ गुरुङ, गोलरक्षक विशाल श्रेष्ठ, रजिन धिमाल, पुजन उपरकोटी राष्ट्रिय टोलीको क्याम्पमा भएको कारण हुने छैनन् । विमल घर्ती मगर र अफ्रिकी खेलाडी ओमोलाजा करिम आज हुने छैनन् । दुवै खेलाडीहरु इन्जुरीका कारण रेष्टमा छन् ।

मछिन्द्रमा आज जापानी खेलाडी युटा सुजुकी, अविशेक गुरुङ, अफिज ओलावाले, दिपेश घले, शौरभ लिम्बु, सागर थापा, निशेन लिम्बु लगायतका खेलाडी हुनेछन् ।
मछिन्द्रले जारी सिजनमा केपी ओली कपको उपाधि र भद्रपुर झापा गोल्डकपमा उपविजेता बन्न सफल भएको छ । मछिन्द्रको प्रशिक्षकमा सन्तोष न्यौपाने रहेका छन् ।
प्रवेश कट्वाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएपछि सन्तोषले टिमलाई प्रशिक्षण दिएका छन् ।
यता भारत सिलिगुढीको कञ्चनजंघा एफसीले आफ्नो एकेडेमी भन्दा बाहिरका खेलाडीहरु संकलन गरेर ल्याएको छ । सुब्रतो सोरेन, अनित राई, अमिर लामा लगायतका खेलाडीहरु हुनेछन् ।
नेपालमा विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको कञ्चनजंघासँग औसतका खेलाडीहरु छन् । भारतका विभिन्न स्थानमा गोल्डकप खेलेर कञ्चनजंघा नेपाल आएको हो ।
गत महिना सम्पन्न सुकुना गोल्डकपमा सेमिफाइनलमा जिटिसी सिलोङसँग पराजित भएको थियो । टिमको प्रशिक्षकमा दिनकर क्षेत्री रहेका छन् ।