काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको क्वाटरफाइनलमा ९ खेलाडीमा सिमित फुलहमलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेड अन्तिम चारमा पुगेको हो ।
खेलको ५० औं मिनेटमा एलेकसान्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७२ औं मिनेटमा विलियनले रातो कार्ड पाएपछि फुलहम १० खेलाडीमा समेटियो ।
युनाईटेडका जाडोन सान्चोको प्रहारलाई गोललाइन क्षेत्रमा हातले रोकेपछि रेफ्रीले विलियनलाई रातो कार्ड र युनाईटेडलाई पेनाल्टी दिएको थियो ।
लगत्तै ७२ औं मिनेटमै मिट्रोभिचले समेत रातो कार्ड पाउँदा फुलहम ९ खेलाडीमा समेटिएको थियो । विलियनलाई कार्ड र पेनाल्टी दिएपछि रिसाएका मिट्रोभिचले रेफ्रीलाई हातले ढकेलेपछि उनलाई पनि रातो कार्ड दिदै रेफ्रीले मैदान बाहिर पठाए ।
७५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७७ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दा युनाईटेड २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ३-१ ले विजयी भयो ।
अब युनाईटेडले सेमिफाइनलमा ब्राइटनसँग खेल्नेछ ।