इटहरी । डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब १३ औ संस्करणको इटहरी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।
क्षेत्रिय रंगशाला इटहरीमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा पाहुना टोली एभेनियर एफसी क्यामरुनलाई टाइब्रेकरमा हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । .सगरमाथाका ४ प्रहार गोलमा परिणत हुँदा एभेनियरका ३ प्रहारले मात्र जाली चुम्न सफल रहयो ।
कप्तान यानिक, साङ्गु र गिनीले गोल गर्न सफल रहे । जोइ एल्डोको प्रहार गोलरक्षक च्याङ थेबले बचाए । साबाको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो । सगरमाथाका अविशेक राई, राजिव लोप्चन, अविशेक लिम्बु र मेसुकेले गोल गरे ।
सगरमाथा अधिकाँश नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका खेलाडी सहित मैदानमा उत्रिएको थियो । एभेनियर जारी सिजनमा बुढासुब्बा गोल्डकप र दोस्रो बर्दिबास गोल्डकपको बिजेता टोली समेत हो । खेलमा एभेनियरले निक्कै दबाब सृजना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको २७ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा यानिक गोल गर्न चुके । ३६ औ मिनेटमा साबाको क्रसमा यानिकको प्रहारलाई अविशेक राईले क्लियर गरे ।
दोश्रो हाफको चौथो मिनेटमा एभेनियरका खेलाडी गिनीले बल नियन्त्रण गर्न नसक्दा पाएको अवसरलाई शक्ति राईले सदुपयोग गर्न सकेनन् । इन्जुरी समयमा पहिलो रोजाईका गोलरक्षक देव लिम्बु घाइते भएपछि च्याङ मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा महत्वपुर्ण प्रहार बचाउँदै टिमलाई सेमीफाइनल पुर्राए । खेलको म्यान अफ दि म्याच सगरमाथाका मेसुके घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
दोश्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबले चर्च ब्वाइज एफसीसंग प्रतिस्पर्धा गर्नेछ ।
खेलपछि प्रतिक्रिया दिँदै सगरमाथाका प्रशिक्षक याम गुरुङले मैदानको अनुभव नभएका कारण सन्तोषजनक खेल नभएको बताए । उनले आगामी खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताए ।
पराजित एभेनियरका प्रशिक्षक आशिक थापा मगरले पेनाल्टी सुटआउट सम्भावनाको खेल भएकाले पराजय भोगेको बताए । उनले खेलमा कडा टक्कर दिएपनि पेनाल्टी सुटआउटमा पराजय भोगेको बताए ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले उद्धघाटन गरेका थिए ।