काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहित चन्दको कप्तानीमा सुरुआती-११ सार्वजनिक गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल साँझ ५:०० बजे सुरु हुनेछ।
करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।
पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ ।
पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।
नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।
नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ ।
पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।
नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो ।
ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।
नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो ।
साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।
नेपालको सुरुआती-११
दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, तेज तामाङ, सेसेहाङ, आङ्देम्बे, पुजन उपरकोटी, आयुष घलान, विमल घर्ति मगर, अन्जन विष्ट