काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा सार्वजनिक भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार विश्वकप २०२६ र एसियन कप २०२७ को छनोट ढाँचा सार्वजनिक गरेको हो ।
एएफसीको कार्यकारी समितिले नयाँ ढाँचालाई अनुमोदन गरेपछि एएफसीले ढाँचा सार्वजनिक गरेको हो ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ ।
जसमा एसियाबाट ८ टोलीले विश्वकपमा छनोट हुनेछन् । यस्तै एसियाको एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ ।
नयाँ ढाँचा अनुसार विश्वकप पुग्नका लागि चार चरणको छनोट हुनेछ ।
पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्ने छन् ।
जसको कारण नेपालले पहिलो चरणदेखि नै खेल्नु पर्ने हुन्छ । कतार विश्वकपका लागि नेपालले दोस्रो चरणको छनोट खेलेको थियो ।
पछिल्लो वरीयता अनुसार नेपाल एसियाको वरीयताको ३६ औं स्थानमा रहेको छ।
होम एण्ड अवेको आधारमा हुने पहिलो चरणबाट ११ विजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरणमा १ देखि २५ औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका ११ टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ । ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ ।
होम एण्ड अवेका आधारमा हुने यस चरणबाट ९ समूहको विजेता र उपविजेता गरी १८ टिम एएफसी एसियन कपमा छनोट हुनेछ भने विश्वकपको तेस्रो चरणमा पुग्ने छन् ।