काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो।
पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे । च्यासलका मौसा अबागानाले एक गोल फर्काए ।
जितपछि पुलिसका मुख्य प्रशिक्षक अनन्तराज थापा खुशी देखिए । उनले आवश्यक तीन अंक पाएको बताए ।
'आजको खेलमा तीन अंक आवश्यक थियो । पायौं । पहिलो हाफ प्रतिस्पर्धात्मक थियो । हामीले अग्रता पनि बनायौ', थापाले खेलपछि भने 'दोस्रो हाफमा हामीले गोल गर्दा उनीहरुले पनि पेनाल्टी गोल गरे । प्रदर्शन अझै सुधार गर्नु पर्छ ।'
प्रशिक्षक थापाले खेलमा अझै सुधार गर्नु पर्ने बताए ।
'आउने खेलमा सुधर गर्ने छौं । बांकी चार खेलमा राम्रो प्रदर्शन गर्दै सेफ ल्यान्डिङ गर्ने छौ,' उनले थपे ।
च्यासलका टेक्निकल डिरेक्टर लेइघ मानसनले पाएको मौकामा चुकेको बताए ।
'आजको खेलबाट खुसी छैन । दोस्रो हाफमा धेरै अवसर गुमायौ । हामीले धेरै खेल राम्रो खेल्यौ । तर गोल गर्न सकेनौ,' मानसनले भने 'टिममा धेरै नयाँ खेलाडीलाई अवसर दियौ ।'
मानसनले रेलिगेसनबाट जोगिने मौका रहेको समेत बताए ।
'गणितीय संभावना अझै छ । अरुको पनि धेरै अंक छैन। हामी राम्रो गर्ने कोशिश गर्छौ,' उनले थपे ।