काठमाडौं । 'ए' डिभिजन क्लब ब्रिगेड ब्वाईज क्लब (बीबीसी) का कप्तान तथा स्ट्राइकर अनिल गुरुङले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
कप्तान अनिलले आगामी सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सम्झौता नवीकरण गरेका हुन् ।
नयाँ सिजनको 'ए' लिग असोज ३ गतेबाट सुरु हुनेछ ।
ब्रिगेडका टिम व्यवस्थापक अरबिन्द गुरुङले क्लबसँग अनिलले सम्झौता नवीकरण गरेको जानकारी गराए ।
'कप्तान अनिलले सम्झौता नवीकरण गरेका छन् । उनी हामीसँगै रहने छन्,' व्यवस्थापक गुरुङले खेलपाटीसँग भने ।
नेपाली राष्ट्रिय फुटबल टिममा पूर्व कप्तान समेत रहेका अनिल अघिल्लो सिजनको लिगमा ब्रिगेडमा अनुबन्धित भएका थिए । उनलाई ब्रिगेडले कप्तानीको जिम्मेवारी समेत दिएको थियो ।
पोखराको सहारा क्लबबाट उत्पादित अनिलले ब्रिगेडबाटै लिगमा डेब्यु गरेका थिए । अनिलले बिस २०६२ सालमा पहिलो पटक ब्रिगेडबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
अनिलले मनाङ मर्स्याङ्दी, थ्री स्टार, एनआरटी क्लबबाट समेत लिग खेलेका छन् । उनले भारतको सिलोङ लाजोङबाट समेत लिग खेलेका थिए ।
व्यवस्थापक अरबिन्द गुरुङले नयाँ लिगका लागि खेलाडी अनुबन्धको काम लगभग सकिएको समेत बताए ।
ब्रिगेडले गत हप्ता विदेशी कोटामा क्यामरुनका बर्टरान्ड एबोडे, रुडी बाकोप र फाब्रिस मर्लिनलाई अनुबन्ध गरेको थियो ।