काठमाडौं । पछिल्लो सिजन टोटनहमका लागि खराब रह्यो । मैदानमा टिमको प्रदर्शन जहाँ खराब रह्यो, त्यहीं क्लबले नयाँ प्रशिक्षक पाउन उत्तिकै संघर्ष गर्नु परेको थियो ।
तर, अहिले कम्तीमा समर्थकको अनुहारमा हाँसो ल्याउने समाचार आएको छ र यो हो, ह्वेङ–मिन सन सन् २०२५ सम्म टोटनहममै रहने छन् । उनले आफ्नो अनुबन्ध नवीकरण गरेका छन् ।
उत्तरी लन्डनमा आएदेखि यी दक्षिण कोरियाली खेलाडी सन समर्थकमाझ खुबै लोकप्रिय छन् । यसको एउटा कारण त उनको प्रशंसायोग्य खेल नै रह्यो, दोस्रो उनको मीठो मुस्कानसहितको व्यक्तित्व ।
टोटनहमका नयाँ प्रशिक्षक नुनो स्पिरिटो सान्टोले सनसँगको नयाँ अनुबन्धलाई लिएर भनेका छन्, ‘हामी सनलाई लिएर नयाँ अध्याय लेख्न गइरहेका छौं ।’
के हो त यो, नयाँ अध्याय ? एउटा तथ्य विश्वासका रूपमा के रहेको छ भने टोटनहमका कप्तान रहेका ह्यारी केनले क्लब छाड्दै छन् ।
उनी म्यानचेस्टर सिटी जाने हल्ला छ । उनी गएपछि कोही कसैले टिमको नेतृत्व त गर्नु पर्यो । हो, नयाँ अध्याय यही हुन सक्छ, सन अबको सिजन टोटनहमको कप्तान हुन सक्छन् ।
यस पछाडिको अर्को एउटा ठोस कारण हो, सन् २०१५ मा जति बेलादेखि उनी क्लबमा आवद्ध भए, टोटनहमप्रति गहिलो आस्था र समर्पण देखाएका छन् ।
आलोचक के भन्छन् भने टोटनहममा उपाधि जित्ने इच्छाका कमी छ । अझ भनौं, महत्त्वकांक्षा नै छैन् । तर यही टोटनहमलाई सन खुबै माया गर्छन्, त्यसैले त उनले नयाँ अनुबन्ध पनि गरेका छन् ।
टोटनहम आएयता उनले २ सय ८० खेलमा १ सय ७ गोल गरेका छन् । अनि उनले केनसँग आक्रमणमा उत्तिकै सटिक साझेदारी पनि बनाएका थिए । सायद अब उनले आक्रमणको जिम्मा अब एक्लै सम्हाल्ने छन् ।
नयाँ अनुबन्धपछि उनको भनाइ पनि उत्तिकै बजनदार छ । उनले भनेका छन्, ‘टोटनहममा आवद्ध रहनु मेरो लागि गर्वको उपलब्धी हो ।’
–द डेली मेलको सहयोगमा ।