काठमाडौं । नेपालले घरेलु टिम इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सेतो जर्सी लगाउने भएका छन् ।
नेपालले भोलि (शनिबार) बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
उक्त खेलमा नेपाल सेतो र इराक हरियो जर्सीमा मैदान उत्रने भएका छन् ।
नेपालले पहिलो पटक सेतो जर्सीमा खेल्न लागेको हो । यस अघि नेपालले रातो र निलो जर्सी प्रयोग गर्दै आईरहेको थियो ।
विश्वकप छनोटको तयारी स्वरूप नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो ।
फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।
नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।
इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह 'सी' बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ । उसलाई पछ्याईरहेको बहराईन ९, इरान ६, हङकङ ५ र कम्बोडिया १ अंक रहेको छ ।
यता, समूह 'बी' मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ ।
नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।
अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।