एजेन्सी । इटालियन क्लब रोमालाई हराउँदै सेभिया युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को खेलमा स्पेनिस क्लब सेभियाले रोमालाई २–० ले हराएको हो ।
अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाविरुद्ध स्पेनिस क्लब सेभियाले पहिलो हाफमै दुई गोल गरेको थियो ।
पाँच पटकको च्याम्पियन सेभियाले जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ ।
खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभियालाई अग्रता दिलाएका थिए । रियल मड्रिडबाट लोनमा सेभिया पुगेका सर्जियोको गोलसंगै टोलीले अग्रता लिएको थियो ।
यूसुफ एन नेसरीले ४४ औं मिनेटमा दोस्रो गोल गर्दै सेभियाको जित सुनिश्चित गरेका थिए ।
पहिलो लेगको खेल कोरोनाले प्रभावित बनेपछि युरोपा लिगको बाँकी खेल जर्मनीमा सञ्चालन गरिएको छ ।
सेभिया पछिल्ला १८ खेलमा अपराजित रहेको छ । अन्य क्लब भन्दा उसले धेरै पटक प्रतियोगिता जितेको छ । क्वाटरफाइनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभियाले उपाधि समेत जितेको छ ।
अर्को खेलमा बायर लेवरकुसेनले रेञ्जरको १३ महिनाको युरोपा लिगको यात्रामा पूर्ण विराम लगायो । रेञ्जर पहिलो पटक अन्तिम १६ मा छनोट भएको थियो ।
मार्च १२ मा भएको पहिलो लेगको खेलमा लेवरकुसेनले ३–१ को अग्रता बनाएको थियो ।
दोस्रो लेगको खेलमा रेञ्जरले कुनै चुनौती दिन सकेन ।
काई हाभट्र्जको प्रहार बारमा लागेर फर्किएको खेलमा मौसा डायबीले एकमात्र विजयी गोल गरे । लिभरकुशन समग्रमा ४–१ को नतिजा सहित क्वार्टरफाईनल प्रवेश गर्न सफल रह्यो ।
लिभरकुशनले सोमबार क्वार्टरफाईनलको खेलमा सिरि ए क्लब ईन्टर मिलानसंग खेल्नेछ ।