एजेन्सी । युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलमा लियोनविरुद्ध खेल्न तयार भएका छन् ।
सिरि ए को अन्तिम खेलमा आराम गरेका रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा मैदान उत्रन तयार भएका हुन् ।
युभेन्ट्स प्रशिक्षक मौरिजियो सर्रीले आराममा रहेका रोनाल्डो च्याम्पियन्स लिगमा लियोनविरुद्ध खेल्न तयार रहेको बताएका छन् ।
पहिलो लेगको खेल युभेन्ट्सले लियोनसंग १–० ले हारेको थियो । दोस्रो लेगको खेल कोरोना भाईरसको महामारीले प्रभावित बनेको थियो ।
गत शनिबार घरेलु लिगको अन्तिम खेलमा रोमाबिरुद्ध रोनाल्डो मैदान उत्रिएका थिएनन् । उनी जुलाई २९ बाट मैदानमा देखिएका छैनन् ।
‘उनी सहि तरिकाले अभ्यास गरिरहेका छन् ।’ सर्रीले भनेका छन् ।
‘बुधबार मात्र उनले अभ्यासमा उत्कृष्ट गोल गरेका छन् । उनले छोटो समयमा धेरै खेल खेलेका छन् । उनीले केही समय आराम गरे । उनी अहिले पूर्ण क्षमताका साथ अभ्यास गरिरहेका छन् ।’ उनले भने ।
गत सिजन अन्तिम १६ को खेलमा एट्लेटिको मड्रिडबिरुद्ध २–० को नतिजा उल्ट्याउने क्रममा रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
‘यो यस्तो खेल हो । जहाँ हामी स्पष्ट रुपमा खुल्ला दिमागले खेल्न आवश्यक छ ।’ सर्रीले भनेका छन् ।
‘एक शानदार प्रर्दशनको आवश्यकता छ । लियोन धेरै राम्रो भएको छ । उनीहरु थप रक्षात्मक रुपमा बलियो बनेका छन् ।’ उनले भनेका छन् ।
प्रशिक्षक सर्रीले लियोनबिरुद्ध पाउलो ड्याबाला समेत उपलब्ध हुने आश गरेका छन् । अर्जेन्टिनी फरवार्डले यस सिजन सबै प्रतियोगितामा १७ गोल गरेका छन् । तर चोटका कारण उनले युभेन्ट्सबाट पछिल्ला दुई खेल गुमाएका छन् ।
युभेन्ट्सले यस सिजन नवौं पटक लगातार लिग उपाधि उचाल्न सफल रह्यो । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ७ अंकको अग्रता सहित लिग उचाल्न सफल बनेको हो ।
फ्रान्सेली लिग यस सिजन रद्ध भएका कारण लियोन मार्चपछि दोस्रो पटक शुक्रबार मैदान उत्रने तयारी गरेको छ । उसले गत शुक्रबार लिग कपमा पीएसजीसंग फाईनल खेल गुमाएको थियो ।