एजेन्सी । एफ ए कपको उपाधिका लागि आज (शनिबार) लण्डन क्लब चेल्सी र आर्सनल भिड्दैछन् । वेम्वली स्टेडियममा हुने खेल राति सवा १० बजे सुरु हुनेछ ।
आर्सनल लण्डन डर्बीमा चेल्सीलाई निराश बनाउँदै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । फरवार्ड एलेक्जेन्डर लाकाजेट्टीले समेत खेलाडीले सिजन बचाउन फाईनल खेलमा चेल्सीलाई हराउन चाहेको बताएका छन् ।
आर्सनलले सर्वाधिक १३ पटक एफ ए कपको उपाधि जितेको छ । तर उसले यस सिजन आठौं स्थानमा रहदै लिगको अन्त्य गर्यो ।
यसको अर्थ आर्सनलले अर्को सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्न पाउने छैन । सोही कारण अर्को सिजन युरोपा लिग सुरक्षित गर्न आर्सनललाई शनिबार चेल्सीबिरुद्ध जित निकाल्न जरुरी छ ।
‘हामीले हाम्रा केही लक्ष्यहरु गुमाएका छौ ।’ २९ बर्षका फरवार्ड लाकाजेट्टीले भनेका छन् ।
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा र चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि उचाल्न लालायित छन् ।
‘यो निकै कठिन सिजन रह्यो । यो मेरो करियरको समेत निकै कठिन सिजन हो । मैले धेरै कुरा सिके । एफ ए कप भनेको धेरैनै हो । म आर्सनल उपाधि जित्नै आएको हो ।’ उनले भनेका छन् ।
प्रशिक्षक लाम्पार्डले फाईनल खेलमा सम्झौता सकिन लागेका विलियनले निकै राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेका छन् । उनले अन्तिम खेलमा एक शानदार प्रर्दशन गर्नका लागि विलियनमाथि विश्वास देखाएका छन् ।
‘उनी हाम्रा लागि निकै शानदार रहे । उनी यस सिजन समेत निकै राम्रो खेलेका छन् । उनले राम्रो व्यवहार देखाएका छन् ।’ लाम्पार्डले भने ।
‘मलाई अपेक्षा छ, उनले यस अघि देखाएको प्रर्दशनमा कुनै कमी हुने छैन । र उनी विलियननै रहनेछन् ।’ उनले थपे ।
चोटबाट मुक्त हुदै विलियन र एनगोलो कान्टे फाईनल खेलमा चेल्सीको जर्सीमा मैदान उत्रनेछन् ।
चेल्सीले चौथो स्थानमा रहदै यस सिजन लिगको अन्त्य गरेको थियो । उसले अर्को सिजन च्याम्पियन्स लिगमा आफुलाई सुरक्षित गरिसकेको छ ।
यस्तै, यस सिजन समेत उसले च्याम्पियन्स लिगको सम्भावना बाँकीनै छ । उसले अन्तिम १६ को दोस्रो लेगमा बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्दैछ ।