एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर निमान्जा माटिक थप तीन वर्ष क्लबमै रहने भएका छन् ।
माटिकले सोमबार क्लबसँगको सम्झौतामा नवीकरण गरेका छन् ।
सर्बियन मिडफिल्डर माटिकले सन् २०२३ को जुनसम्म क्लबमा रहने गरी युनाइटेडसँग नयाँ सम्झौता गरेका छन् ।
माटिक सन् २०१७ मा युनाइटेड आएका थिए । उनले युनाइटेडका लागि १ सय १४ खेल खेलेका छन् ।
'एक महान क्लबसँगको सहकार्य जारी राख्न पाउँदा म धेरै खुशी छु,' सम्झौतापछि क्लबको वेबसाइटमा माटिकले भनेका छन्, 'मैले अझै क्लबका लागि योगदान दिनुछ र मैले उपलब्धि हासिल गर्नुछ ।'
३१ वर्षे माटिकले सर्बियाका लागि ४८ खेल खेलेका थिए ।
युनाइटेड आउनु अघि उनले चेल्सीबाट तीन सिजन खेलेका थिए ।