एजेन्सी । क्रोएसियाका फरवार्ड मारियो मान्डजुकिक कतारी क्लब अल दुहाल छाडेका छन् ।
युभेन्ट्सका पूर्व फरवार्ड मान्डजुकिकले सामाजिक संजाल ट्वीटरबाट क्लब छाडेको घोषणा गरेका छन् ।
मान्डजुकिक गत पुसमा फ्रि ट्रान्सफरमा अल दुहालमा आबद्द भएका थिए । तर, अनुबन्ध भएको ६ महिना नबित्दै उनले क्लब छाडेका हुन् ।
३४ वर्षे मान्डजुकिकले आफुले सहमतिमा क्लबसँगको सम्झौता अन्त्य गरेको बताएका छन् ।
'कतारमा मैले पाएको विश्वास र आतिथ्यको म कदर गर्दछु र भविष्यमा क्लब र टिमको लागि शुभकामना गर्दछु,' उनले ट्वीटरमा लेखेका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने हल्ला चलिरहेको समय मान्डजुकिकले कतारी क्लबसँग सम्झौता गरेका थिए ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सन् २०१५ मा युभेन्ट्स आएका मान्डजुकिकले क्लबका लागि १ सय ६२ खेलमा ४४ गोल गरेका थिए ।
उनले जर्मनीको वायर्न म्युनिख र वुल्फबर्गबाट समेत खेलेका थिए ।
रुसमा भएको फिफा विश्वकप फुटबलमा क्रोएसियालाई फाइनलसम्म पुर्राउन मान्डजुकिकले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, फाइनलमा क्रोएसिया फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।