एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ ।
च्याम्पियन बनिसकेको लिभरपुल, दोस्रो स्थानको म्यानचेस्टर सिटी लगायतका क्लबले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
लिभरपुलले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ । लिभरपुल र एस्टनबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल सहज जितको खोजीमा हुनेछ । यस्तै लिभरपुल अघिल्लो खेलमा सिटीसँगको पराजयलाई बिर्साउने कोशिशमा हुनेछ ।
लिभरपुलले ३२ खेलमा ८६ अंक जोडेको छ । एस्टन २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २० अंकले अघि रहेको छ । घरेलु मैदानमा एस्टनलाई हराएर लिभरपुल अंक तालिका फराकिलो बनाउने योजनामा हुनेछ ।
यस्तै सिटीले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल ११:४५ बजे सुरु हुनेछ ।
सिटी घरेलु टोलीलाई हराएर लिभरपुलसँगको अंक तालिका घटाउने योजनामा हुनेछ । साउथह्याम्पटन पनि जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
सिटीको ६६ अंक रहेको छ । १४ औं स्थानको साउथह्याम्पटनको ४० अंक रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा बर्नलीले सेफिल्डसँग खेल्नेछ । न्युकासलले वेस्ट ह्यामसँग खेल्नेछ ।