एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले जर्मनीका स्ट्राइकर टिमो वेर्नेर र अट्याकिङ मिडफिल्डर काइ हाभर्ट्ज महान खेलाडी भएको बताएका छन् ।
जर्मन प्रशिक्षक क्लोपले स्काई जर्मनीसँग कुरा गर्दै वेर्नेर र हाभर्ट्ज महान खेलाडी भएको बताएका हुन् ।
'यस ग्रहमा धेरै राम्रा खेलाडीहरु छन् । वेर्नेर महान खेलाडी हुन् । हाभर्ट्ज पनि महान खेलाडी हुन्,' क्लोपले भने ।
पछिल्लो समय प्रिमियर लिग क्लब लिभरपुलले आरबी लाइपजिगका वेर्नेर र बायार लेवरकुसनका हाभर्ट्ज अनुबन्धको चाँसो देखाएको थियो ।
तर, वेर्नेर चेल्सी र हाभर्ट्ज बायर्न म्युनिख जाने पक्का भईसकेको बताईएको छ । वेर्नेर र हाभर्ट्ज दुवै यस सिजन ट्रान्सफर विन्डोमा सर्वाधिक चर्चा पाउने खेलाडी हुन् ।
यस्तै प्रिमियर लिग लिडर क्लबका प्रशिक्षक क्लोपले यस सिजन पुन: खेल्न पाउनेमा आफुले आशा नगरेको समेत बताए ।
'६ हप्ता अघि हामी यस वर्ष पुन: खेल्न सक्छौं भनेर हामीलाई थाहा थिएन,' क्लोपले भने, 'अब यो तुरुन्तै सुरु हुँदैछ ।'
कोरोना भाईरसको महामारीले स्थगित प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकले अघि रहेको लिभरपुललाई दुई जितले च्याम्पियन बनाउने छ ।