एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सहज जित निकालेको छ ।
साविक विजेता समेत रहेको बायर्नले शनिबार बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
लेवरकुसनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर बायर्नले जित निकालेको हो ।
बायर्नको जितमा किङ्सले कोम्यान, लियोन गोर्टेज्का, सेर्गी गनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे ।
लेवरकुसनका लुकास अलारियो र फ्लोरियन वीट्जले एक एक गोल गरे ।
खेलको १० औं मिनेटमा लुकासको गोलबाट लेवरकुसनले अग्रता बनाएको थियो । तर, २७ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।
४२ औं मिनेटमा गोर्टेज्का र ४५ औं मिनेटमा सेर्गीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३-१ गोल अन्तरले अघि रह्यो ।
खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्न ४-१ ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा फ्लोरियन थप एक गोल फर्काएपनि घरेलु टिम ४-२ ले पराजित भयो ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । अब उपाधि जित्न बायर्नलाई २ जितको आवश्यकता रहेको छ ।
कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि बायर्नको यो लगातार चौंथो जित हो ।
बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।
बायर्नले ३० खेलमा ७० अंक जोडेको छ । डर्टमण्डको ६३ अंक रहेको छ ।
घरेलु मैदानमा बायर्नसँग पराजित लेवरकुसन ५६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।