एजेन्सी । लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले नयाँ सिजनका लागि खेलाडीलाई तयार गरिरहेको बताएका छन् ।
उनले यस सिजन सकिने बित्तिकै अर्को सिजन चाँडै सुरु हुने अपेक्षा सहित तयारीमा जुटेको बताएका हुन् ।
कोरोना भाईरसका कारण प्रिमियर लिग अबरुद्ध भएपछि लिभरपुलका खेलाडीले पहिलो पटक गत हप्ताबाट अभ्यास सुरु गरेका छन् ।
लिभरपुलले लिग तालिकामा २५ अंकको अग्रता लिएको छ । ३० बर्षको ईतिहासमा लिभरपुल पहिलो पटक उपाधिको नजिक छ । लिभरपुललाई उपाधि जित्न मात्र ६ अंक चाहिएको छ । लिभरपुलले एभर्टनलसंग खेल्दै प्रिमियर लिगको बाँकी सिजन सुरु गर्दैछ ।
बेलायत सरकारले जुन १ बाट खेलकुद गतिविधि अघि बढाउन अनुमती दिएको थियो । सोही अनुसार प्रिमियर लिगको बाँकी सिजन जुन १७ बाट सुरु गर्न लागिएको छ ।
कोरोनाले करिब तीन महिना प्रिमियर लिगको खेल तालिका प्रभावित बनेको थियो । घरेलु फुटबललाई पूर्णता दिने उद्धेश्यले युरोप कप समेत अर्को बर्षका लागि सारिएको छ ।
प्रिमियर लिगले ९२ वटा बाँकी खेल जुलाईको अन्तिममा सक्ने तयारी गरेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले समेत अगष्टभित्र च्याम्पियन्स लिग र युरोपा लिग सक्ने लक्ष्य राखेको छ ।
नयाँ तालिका अनुसार सेप्टेम्बरबाट नयाँ सिजन सुरुवात हुने अपेक्षा गरिएको छ । अघिल्लो बर्षको तालिका प्रभावित नहुने उद्धेश्यले नयाँ सिजन चाँडै सुरु गरिने बताईएको छ । सोही कारण क्लबले नयाँ सिजनका तयारीका लागि समय पाउने सम्भावना निकै कम छ ।
लिभरपुल प्रशिक्षक क्लोपले सम्भावित तालिकालाई केन्द्रित गर्दै नयाँ सिजनका लागि खेलाडीको तयारी अघि बढाएका हुन् ।
‘अहिले फिट हुन कुनै खेल छैन । हामीले हरेक दिन आफ्नो गतिलाई विकास गर्नुपर्नेछ । हामीलाई १९–२० दिनमा फिट हुन आवश्यक छ । जब हामी एभर्टनबिरुद्ध उत्रनेछौ, हामीलाई सतप्रतिशत तयार रहन आवश्यक छ ।’ उनले क्लबको वेवसाईटलाई दिएको अन्तरवार्तामा भनेका छन् ।
‘अहिले तीन हप्ताको समय छ । यो ठिक छ । यसलाई उपयोग गर्न आवश्यक छ । यो हाम्रो प्रि–सिजन जस्तै हो । हामीले सिजनको बीचको धेरै समय पाउने आश गरेका छैनौ । त्यसैले यो समय निकै महत्वपुर्ण रहेको छ । फुटबल जिवनमा ९ हप्ता अभ्यास बिनाको दिन थिएन । यो सबै अलग रह्यो र चाखलाग्दो समेत ।’ क्लोपले भने ।
‘हामीले अवस्थाको मज्जा लिईरहेका छौ । सबै राम्रो छ । यसले हामीलाई फरक बनाएको छ । ईमान्दारपूर्वक भन्नुपर्दा संगै आउनु र केही घण्टासंगै बिताउदाँ सम्पर्क हुन पाईन्छ । मैदानमा सिधै प्रतिक्रिया दिन सकिन्छ । त्यहाँ कुनै कम्प्युटर र स्क्रिन हुने छैन ।’ उनी थप्छन् ।
क्लबहरुले सुरुवात गरेको अभ्यासलाई लकडाउन पछिको पहिलो कदम मानिएको छ । प्रिमियर लिगमा लिभरपुल उपाधिको नजिक रहेको छ ।
लिभरपुलले २९ खेलबाट ८२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको सिटीको ५७ अंक छ । लेस्टर ५३ अंक सहित तेस्रो स्थानमा रहदाँ चौथो स्थानको चेल्सीको ४८ अंक छ ।
पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडले ४५ अंक जोड्दै च्याम्पियन्स लिगमा छनोट हुने दौडमा आफुलाई सामेल राखेको छ ।