एजेन्सी । ला लिगा फुटबल जुन १२ बाट सुरु गर्ने तयारी गरिएको छ । लिगको पहिलो खेलमा सेभिल्ला र रियल बेटिसबीच प्रतिस्पर्धा गराईने भएको छ ।
सेभिल्लाका खेल निर्देशकले एक स्पेनिस रेडियोमा दिएको अन्तरवार्ता अनुसार ला लिगा सुरु हुने मिति र उद्घान खेलको सुचना बाहिर आएको हो ।
स्पेनको व्यवसायीक फुटबल जुनको मध्यबाट सुरु गर्ने लक्ष्य राखिएको छ । स्पेनिस क्लबलाई कम्तिमा १० जनाको समुहमा अभ्यास गर्न अनुमती प्रदान गरिएको छ ।
‘डर्बी सहित ला लिगा फर्कनु भनेको यो भन्दा अरु राम्रो तरिका हुन सक्दैन ।’ सेभिल्लाका खेल निर्देशक मोचीले भनेका छन्, ‘यो एक प्रोत्साहन हुनेछ । किनकी हामी सबै फुटबल फर्कने आश गरेका छौ । र यो पहिलो खेल शानदार हुनेछ ।’
ला लिगका अध्यक्ष जाभियर टेबासले सिजनका बाँकी सबै खेल सम्पन्न गरिने बताएका छन् । ला लिगको तालिका अनुसार क्लबहरुले समान ११ खेल खेल्न बाँकी छ । बार्सिलोनाले लिग तालिकामा दुई अंकको अग्रता लिएको छ ।
स्पेनिस फुटबल अधिकारीले सबै खेलाडीको स्वास्थ्य परिक्षण गरेका छन् । तर शीर्ष दुई डिभिजनका ५ खेलाडीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
खेल फर्कने समय स्वास्थ्य र सुरक्षाको चिन्ता प्रमुख बनेको छ । ला लिगा अध्यक्ष टेबासले खेलाडीलाई सबैभन्दा कम जोखिममा राखिने बताएका छन् ।
युरोपका शीर्ष डिभिजनको लिग फुटबल बुन्डेसलिगा बन्द रंगशालामा सुरु भईसकेको छ ।