एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लण्डन क्लब चेल्सीले अविश्वसनीय पुनरागमन रचेको छ ।
मंगलबार भएको खेलमा चेल्सीले डच क्लब आयाक्ससंग ४–४ गोलको बराबरी भएको खेलमा उत्कृष्ट पुनरागमन गरेकाे हो ।
कुल ८ गोल भएको खेलमा चेल्सी एक समय ४–१ ले पछाडी थियो ।
तर ९ खेलाडीमा सिमित पाहुना टोलीमाथि चेल्सीले बराबरीको नतिजा निकाल्न सफल रह्यो ।
स्टामफोर्ड ब्रिजमा चेल्सीले एक कीर्तिमानी पुनरागमनको कथा लेख्न सफल भयो ।
दोस्रो मिनेटमा टमी अब्राहमले आत्मघाति गोल गरेपछि अजाक्सले खेलमा अग्रता बनाएको थियो ।
ईटालियन स्टार जोर्गिन्होले चौथो मिनेटमा पेनाल्टीमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए ।
क्विन्सी प्रमिसले २० औ मिनेटमा गोल गर्दै अजाक्सलाई अग्रता दिलाए ।
हकी जिचले फ्रिकिकमा चेल्सीका किपा एरिजाबलागाले ३५ औ मिनेटमा आत्मघाति गोल गरेपछि अजाक्स ३–१ ले अगाडी बढेको थियो ।
भान डी विकले ५५ औ मिनेटमा अजाक्सका लागि चौथो गोल गरेका थिए ।
६३ औ मिनेटमा चेल्सीका सेजर अजपिलिकुइताले गोल अन्तर घटाउने काम गरेका थिए ।
त्यसपछि पाहुना टोली अजाक्सले लगातार दुई रातो कार्ड ब्यहोर्यो ।
ब्लाईन्ड ६८ औ मिनेट र वेल्टमेन ६९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि अजाक्स ९ खेलाडीमा सिमित बनेको थियो ।
७१ औ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।
चेल्सीका रिस जेम्सले ७४ औ मिनेटमा गोल गर्दै खेललाई ४–४ को स्थितीमा ल्याएका थिए ।
समूह एचको खेलमा दुवै टोलीले समान ७ अंक जोडेका छन् । गोल अन्तरका आधारमा अजाक्स पहिलो र चेल्सी दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको स्पेनिस क्लब भ्यालेन्सियाको समेत ७ अंक छ ।