काठमाडौं । किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोलि शुक्रबार साँझ स्वदेश आईपुगेका हुन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल , अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले स्वागत गरेका थिए ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहिबार भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा समेटिएको थियो । सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपालले इतिहासकै पहिलो उपाधि चुम्नबाट चुकेको थियो ।
यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बन्चित भएका थिए ।

