एजेन्सी । चेल्सीका मिडफिल्डर एन'गोलो कान्टेले युईएफए सुपर कपको फाइनल गुमाउने भएका छन् ।
कान्टेले घुँडाको चोटको कारण लिभरपुलविरुद्धको सुपर कप गुमाउने भएका हुन् । चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले कान्टेले सुपर कप गुमाउने पक्क भएको पुष्टि गरेका छन् ।
'कान्टेले सामान्य चोट बोकेका छन् । उनले यस साता फिटनेसमा काम गरिरहेका छन् । भोली उ बेञ्चमा बस्नेछन्,' प्रशिक्षक लाम्पार्डले भने ।
चेल्सी र लिभरपुलबीचको सुपर कपको उपाधि भिडन्त बुधबार राति टर्कीको भोडाफोन एरिनामा हुनेछ । चेल्सी युरोपा लिग र लिभरपुल च्याम्पियन्स लिग विजेता बन्दै सुपर कपका लागि भिड्न लागेका हुन् ।
इन्ग्लिश प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेलमा पनि कान्टे दोस्रो हाफ ७६ औं मिनेटमा मैदान छिरेका थिए । उक्त खेलमा चेल्सीले म्यानचेस्टर युनाईटेडसँग ४-० को हार व्यहोरेको थियो ।