काठमाडौं । नेपालमा आयोजना भएको पाँचौ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रदेश नम्बर १ सरकारले नगदसहित सम्मान गरेको छ ।
विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा प्रदेश १ सरकारले साफ उपविजेता टोलीलाई जनही १/१ लाख नगदले सम्मानित गरेको हो । सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन् ।
प्रदेश सरकारले साग जितेको खण्डमा महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेको थियो । तर, उपविजेता बनेपछि प्रदेश सरकारले एक एक लाख दिएको हो ।
गत फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
नेपाली टोलीलाई सोमबार विराटनगर महानगरपालिकाले जनही ५० हजार नगदले सम्मानित गरेको थियो ।
त्यस्तै उपविजेता नेपाली टोलीलाई बुधबार सरकारले नगदसहित सम्मान गर्दैछ । युवा तथा खेलकुद मन्त्रालयले नेपाली टोलीको २० सदसीय खेलाडी र एक प्रशिक्षकलाई जनही ३२ हजारसहित सम्मान गर्ने जनाएको छ ।