काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन सन्जु सेनले दुई गोल गरे । यस्तै रविन राईले एक गोल गरे । जावलाखेलका लागि शिर्षक भक्त श्रेष्ठले एक गोल फर्काए ।
निकै रोमान्चक बनेको खेलमा पुलिसका रविनले उत्कृष्ट खेल प्रदर्शन गरे । एक गोल गरेका उनले एक पास मिलाएका थिए ।
खेलमा सुरुवाती अग्रता पनि पुलिसले बनाएको थियो । खेलको २८ औं मिनेटमा रविनले मिलाएको बलमा सन्जुले चिप गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
तर, पुलिसविरुद्ध जावलाखेल पहिलो हाफमै खेलमा फर्कियो । जावलाखेलका शिर्षकले पेनाल्टीमा गोल गरे । जावलाखेलका कप्तान साचु गुरुङलाई पुलिसका सन्दिप राईले डिबक्स भित्र फल गरेपछी जावलाखेलले पेनाल्टी पाएको थियो ।
लगत्तै पुलिसले खेलको इन्जुरी समयमा गोल गर्दै खेलमा पुन: २-१ को अग्रता बनायो । मन्जिल राईले डिबक्स भित्रबाट उपलब्ध गराएको पासमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा रविनले गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए । उनले काउन्टरमा गोल गरेका थिए ।
जावलाखेललाई हराएसँगै पुलिस पहिलो पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ । समूह चरणको खेलमा पनि पुलिसले जावलाखेललाई २-१ गोल अन्तरले हराएको थियो ।
अब पुलिसले उपाधिका लागि साविकको विजेता ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ । ब्रिगेडले मनाङ मर्स्याङ्दी क्लबलाई ७-१ गोलको भारी अन्तरले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।