एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमारले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी भएको बताएका छन् ।
ब्राजिलियन फरवार्ड नेयमारले एक च्यारिटी कार्यक्रममा आफुले देखेको विश्वको उत्कृष्ट खेलाडी मेस्सी रहेको बताएका छन् । मेस्सी नेयमारका पूर्व सहकर्मी समेत हुन् ।
‘मेरोलागि मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी हुन् । उनि उत्कृष्ट खेलाडी हुन् जुन मैले देखेको छु,’ नेयमारले भने ।
पीएसजीका फरवार्ड नेयमारले स्पेनिस क्लब बार्सिलोनामा मेस्सीसँग चार वर्ष सँगै खेलेका थिए । बार्सिलोनामा मेस्सी,नेयमार र लुइस स्वारेजको लाईन अप 'एमएसएन' नामबाट चर्चित थियो ।
यस्तै नेयमारले मेस्सीसँग खेल आफ्नो लागि खुशीको कुरा भएको बताए ।
'हामीले उत्कृष्ट जोडी बनायौ । मेस्सीसँग खेल्नु मेरोलागि खुशीको कुरा थियो । र, सबैभनदा ठूलो कुरा उनी मेरो साथी हुन् ,’ नेयमारले थपे।
२७ वर्षे नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा पीएसजी गएका थिए । तर,पछिल्लो समय नेयमार बार्सिलोना फर्किने हल्ला चलिरहेको छ ।
चोटका कारण अधिकांस समय मैदान बाहिर रहदै आएका नेयमार क्लबसँग खटपटका कारण पीएसजी छाड्ने योजनामा रहेका छन् ।