एजेन्सी । चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले क्लबलाई सफल बनाउन नयाँ खेलाडी आवश्यक नरहेको बताएका छन् । खेलाडी खरिदको प्रतिबन्ध भोगिरहेको चेल्सीका नयाँ प्रशिक्षक लाम्पार्डले नयाँ खेलाडी बिनै क्लबलाई सफलता दिलाउने उल्लेख गरेका हुन् ।
चेल्सी लगातार दुई पटक खेलाडी किन्न प्रतिबन्धित छ । खेलाडी अनुबन्धनमा फिफाको नियम तोडेको भन्दै उसलाई कारबाही गरिएको थियो ।
चेल्सीले कारबाहीविरुद्व खेलुकदको सर्वोच्च अदालत कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (कास)मा निवेदन समेत दिएको छ ।
सन् २०१८-१९ को सिजनको अन्तिममा मुख्य प्रशिक्षक माउरिजियो सर्रीले क्लब छाडेपछि लाम्पार्ड चेल्सी सम्हाल्न आईपुगेका हुन् ।
उनलाई चेल्सीका लागि पहिलो टिम बनाउन निकै गाह्रो छ । मुख्य खेलाडी ईडेन हजार्ड समेत स्पेनिस महारथी क्लब रियल मड्रिड लागेपछि चेल्सीलाई ठुला धक्का लागेको छ ।
तर क्लबका पुर्व मिडफिल्डर समेत रहेका लाम्पार्डले चेल्सीमा रहेका खेलाडीलाई लिएर सफलता दिलाउनेमा आत्मविश्वास देखाएका छन् ।
‘सर्रीको नेतृत्वमा मैले चेल्सीका धेरे खेल हेरेको छु ।’ प्रि–सिजन टुरमा रहेका लाम्पार्डले भने ।
‘एक हिसाबले सिजन समाप्त भएको छ । क्लबले युरोपा लिग जितेको छ । च्याम्पियन्स लिगमा स्थान बनाएको छ । सिजन निकै सफलनै रह्यो । तर मलाई पछाडी फर्कने अनुमती छैन ।’ उनले थपे ।
‘मैले क्लबलाई राम्रोसंग चिनेको छु । खेलाडीलाई समेत हेरेको छु । मसंग आफ्नै बाटो छ । जो म खेलाडीसंग काम गर्न चाहन्छु । एक हप्ताको अनुभवमा म भन्न सक्छु, खेलाडीको स्वभाव र क्षमताबाट निकै खुसी छु । मेरो काम प्रि–सिजनमा कडा मेहनत गर्नु हो ।’ लाम्पार्डले भने ।
४१ बर्षका प्रशिक्षकले यसअघिनै एकेडेमीका खेलाडीलाई प्रशिक्षण दिईसकेका छन् । उनले पहिलो पटक चेल्सीको सिनियर टिम हेर्ने मौका पाएका हुन् ।
‘सबैलाई थाहा छ, मैले एकेडेमीका युवा खेलाडीलाई नजर लगाएको छु ।’ उनले थपे, ‘हामी पहिलो टिममा आउनका लागि उनीहरुलाई मौका दिनेछौ । उनीहरुलाई अब केही फरक गर्न आवश्यक छ । उनीहरुले त्यसो गर्न आवश्यक छ, जो टिममा आएपछि राम्रो खेल्न सकुन ।’