काठमाडौं । पाँच पटकको विश्वकप बिजेता ब्राजिल रुसमा जारी २१ औं संस्करणमा भने क्वाटरफाइनलबाट बाहिरियो । शुक्रबार राति भएको खेलमा बेल्जियमसंग २ - १ ले पराजित हुँदै ब्राजिल घर फर्कियो ।
रुस विश्वकपमा ठुला भनिएका राष्ट्र र स्टार खेलाडीले भरिएका राष्ट्रहरु बाहिरिदै गर्दा विश्वकप रोमान्चक बन्दै गएको छ । उपाधि दाबेदार मानिएको ब्राजिल घर फर्किएपछि फुटबल बजारमा निकै तरङ्ग उत्पन्न भएको छ ।
उपाधि दाबेदार ब्राजिल किन क्वाटरफाइनलबाटै घर फर्कियो त ? हामीले नेपाली फुटबल प्रशिक्षक मेघराज केसीलाई प्रश्न गरेका थियौं । प्रशिक्षक केसीले ब्राजिल क्वाटरफाइनलबाट बाहिरिनुका धेरै कारणहरु बताएका छन् ।
प्रशिक्षक केसीको नजरमा ब्राजिल र बेल्जीयमबीचको खेल, उनकै शब्दमा -

ब्राजिलले समग्रमा राम्रो फुटबल खेलेको हो । मेरो बिचारमा रुस विश्वकपमा ब्राजिलले खेलेको सबै भन्दा उत्कृष्ट प्रर्दशन बेल्जियमविरुद्धकै हो । उसले बेल्जिमय भन्दा धेरै अवसर सिर्जना पनि गर्यो तर त्यसले नतिजा ल्याउन सकेन । उसका करिब ९ वटा अवसर सिर्जना गरेपनि बेल्जियमका गोलकिपर थिएगो कोर्टुवाले उत्कृष्ट प्रर्दशन गरे ।
अझ भनौ हिजोको दिन ब्राजिलका लागि थिएन् । मिडफिल्डर काउटिन्होको गोल असफल हुनु । खेलको अन्तिममा नेयमारको उत्कृष्ट प्रहारलाई गोलकिपरले बचाउ गर्नु ब्राजिल हारका कारणहरु हुन् ।
बेल्जियमले ब्राजिलको तुलनामा कम अवसर सिर्जना गर्यो । तर, त्यसलाई गोलमा परिणत गर्न सफल भयो । मुख्य कुरा ब्राजिलको आत्मघाती गोल कै कारण बेल्जियमलाई फाईदा पुग्यो । दोस्रो कुरा उसले काउन्टरमा गोल गर्न सफल भयो ।
दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट कमब्याक गर्यो । ब्राजिलका रेनेटो अगुस्टोले गोल गरेपछि पनि ब्राजिलले निरन्तर आक्रमणको प्रयास गरेको थियो । त्यसपछि समेत चारवटा गतिलो आक्रमण ब्राजिलले बुनेको थियो । तर गोल ननिस्किएपछि ब्राजिललाई गाह्रो भयो ।
ब्राजिली डिफेन्सले हिजोको खेलमा समेत उत्कृष्ट प्रर्दशन गरेको हो । सुसाईड गोल भएपछि ब्राजिलमा दबाब थपियो । त्यही क्रममा काउन्टरमा गोल खान पुग्यो । बेल्जियमका रोमेलु लुकाकुले ब्राजिलका चार जना डिफेन्सलाई एकैपटक विट गर्न सफल भए । उनको खुबी भनेकै त्यही हो । डिफेन्स कमजोर होईन । केभिन डि ब्रोएनाले पनि डिफेन्स विट गरेर हानेको गोल होईन । लामो दुरीको प्रहार गोलमा परिणत हुन सफल भयो ।
खेलको सुरुमै डिफेन्डर फर्नानडिन्होको आत्मघाति गोल ब्राजिली हारको मुख्य कारण हो ।