एजेन्सी । आइसल्याण्डले भारतीय क्रिकेटर अम्बाती रायडुलाई आफ्नो राष्ट्रबाट क्रिकेट खेल्न निम्तो दिएको छ ।
हालै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका रायडुलाई आइसल्याण्ड क्रिकेटले आफ्नो देशबाट खेल्न आमन्त्रण गरेको हो । आइसल्याण्ड क्रिकेटले आफ्नो अफिसियल ट्वीटर ह्यान्डलबाट रायडुलाई आफ्नो देशबाट खेल्न अनुरोध गरेको छ ।
मध्यक्रमका ब्याट्सम्यान रायडुले बुधबार सबै खाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
आइसल्याण्ड क्रिकेटले रायडुलाई मेन्सन गर्दै बसाई सराईको लागि चाहिने सबै विवरणको डकुमेन्ट सार्वजनिक गरेको छ ।
'अग्रवालले ७२ दशमलब ३३ को औषतमा ३ विकेट हात पारेका छन् । त्यसैले रायडुले आफ्नो थ्री डि चस्मा थन्काई दिए हुन्छ । उसलाई अब सामान्य चस्माको मद्दतले यो डकुमेन्ट पढ्न सक्छन् । हामीसंग आउ अम्बाती । किनकी हामी तिमीलाई माया गर्छौं,'आइसल्याण्ड क्रिकेटले ट्वीट गरेको छ ।
३३ बर्षे रायडुले भारतबाट ५५ एकदिवसीय खेल खेलका छन् । उनले ४७ दशमलब ०५ को औसतमा १ हजार ६ सय ९४ एक रन बनाएका छन् । उनले ६ अन्तराष्ट्रिय टी-ट्वान्टीमा खेल खेलेका छन् ।
रायडुले क्लब क्रिकेट भने खेल्नेछन् । विश्व चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) मा रायडुले चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गर्ने छन् ।
इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकपका लागि भारतीय टिमको घोषणा हुँदा रायडु 'हट केक' बनेका थिए । यस सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दा रायडु विश्वकप टिममा पर्ने अनुमान गरिएको थियो । तर, थुप्रैको अनुमान गलत साबित भएको थियो ।
विश्वकपका लागि वैकल्पिक खेलाडीका रुपमा राखिएपनि भारतका २ खेलाडी चोटका कारण घर फर्कदा उनले स्थान पाएका थिएनन् ।