एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा जासन रोय र जोन्नी बेयस्ट्रोले अनौठो कीर्तिमान बनाएका छन् ।
विश्वकप इतिहासमा पहिलो पटक बेयस्ट्रो र रोयको ओपनर जोडीले एकै विश्वकपमा पहिलो विकेटका लागि तीन पटक एक सय रनको साझेदारी गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा अहिले जारी न्युजिल्याण्डविरुद्धको खेलमा १ सय रनको साझेदारी गर्दै बेयस्ट्रो र रोयले उक्त कीर्तिमान बनाएका हुन् ।
न्युजिल्याण्डविरुद्ध पहिलो विकेटका लागि ओपनरद्वय बेयस्ट्रो र रोयले १ सय २३ रनको साझेदारी गरेका थिए ।
यसअघि यी दुई जोडीले भारत र बंगलादेशविरुद्ध १ सय बढी रनको साझेदारी गरेका थिए । भारतविरुद्ध पहिलो विकेटका लागि बेयस्ट्रो र रोयले १ सय ६० र बंगलादेशविरुद्ध १ सय २८ रनको साझेदारी गरेका थिए ।
यसअघि कुनै पनि विश्वकपमा एकै जोडेले ३ पटक सय रनको ओपनिङ साझेदारी गरेका थिएनन् ।