काठमाडौं । मलेसियामा सुरु एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले भोलि (बुधबार) चीनसँग प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले चीनविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । साबिक बिजेता समेत रहेको नेपाल चीनलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
चीनविरुद्ध नेपाललाई जित निकाल्न खासै चुनौती हुने छैन । किनकि चीनलाई प्रतियोगितामा निकै कमजोर टिम मानिएको छ । यू-१९ क्रिकेटमा नेपालको लागि चीन नौलो प्रतिद्वन्दी हो । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रने नेपाल शतर्क भएर खेल्नेछ ।
उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले चीनपछि सिंगापुरसँग खेल्नेछ । नेपाल रहेको समूह 'ए' मा चीन र सिंगापुर रहेका छन् । अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
गत संस्करणमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । साबिक बिजेता रहेका कारण नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ ।
नेपाली टोलीमा यस पटक चार नयाँ अनुहार रहेका छन् । आसिफ शेख, सन्दीप जोरा, सुर्य तमाङ र अभिषेक बस्नेतको स्थानमा खड्क बोहोरा, तिलक भण्डारी, विशाल बिक्रम केसी र लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
नेपाली टिम :
रोहित कुमार पौडेल (कप्तान)
रित गौतम
पवन सर्राफ
भिम सार्की
कुशल मल्ल
राशिद खान
कमल सिंह ऐरी
सागर ढकाल
हरि बहादुर चौहान
प्रतिष जिसी
खडक बोहरा
तिलक भण्डारी
बिशाल बिक्रम केसी
लोकेश बम