काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ठुला टिम व्यस्त रहेको कारण तुलनात्मक कमजोर टिम मलेसियासँग सिरिज खेल्नु परेको बताएका छन् ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा कार्यक्रममा बोल्दै कप्तान पारसले अन्तिम बिकल्पको रुपमा मलेसियासँग सिरिज खेल्न लागेको बताए ।
'पछिल्लो ४/५ महिनामा एकदिवसीय राष्ट्रसँग सिरिज खेल्न कसरत गरेका थियौं,' कप्तान पारसले भने, 'तर अन्य राष्ट्रको टिम अन्तै व्यस्त रहेका कारण मलेसिया अन्तिम बिकल्प बनेको हो ।'
विश्वकप छनोटको तयारीका रुपमा नेपालले अर्को साता मलेसियासँग दुई खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८-२९) मा हुनेछ ।
यस्तै कप्तान पारसले वरियतामा मलेसिया निकै तल रहेपनि सिरिज उचाल्न राम्रो प्रदर्शन आवश्यक रहेको बताए ।
'टी-ट्वान्टी फर्म्याट निकै अप्रत्यासिल हुन्छ । जुन टिमले जुन टिमलाई पनि हराउन सक्छ । विपक्षि टिम कस्तो छ भन्दा पनि आफ्नो बारेमा हामी सकारात्मक सोच्छौं,' कप्तान पारसले भने ।
आईसीसी टी-ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ । मलेसिया भने वरियताको ३३ औं स्थानमा रहेको छ ।
वरियतामा नेपाल भन्दा तल टेस्ट राष्ट्र आयरल्याण्ड र जिम्बाबे तथा एसोसियट नेदरल्याण्ड्स, स्कटल्याण्ड, युएई र पपुवा न्युगिनी रहेका छन् । सिरिज खेल्न लागेको मलेसिया भने बरियतामा ३३ औं स्थानमा रहेको छ ।
कप्तान पारसले सिंगापुर र मलेसियाबीचको मौशम मिल्दोजुल्दो रहेको कारणले सिरिजले टिमलाई सहयोग पुग्ने बताए ।
'विश्वकप एसिया फाइनल सिंगापुरमा हुँदैछ । सिंगापुर र मलेसियाको वातावरण निकै मिल्दोजुल्दो हुनेगर्छ । त्यसैले मलेसियामा केहि हप्ता बस्ने नेपालले त्यो वातावरणमा घुलमिल हुने हुँदा प्रतियोगितामा निकै मद्दत पुग्ने छ,' कप्तान पारसले थपे, 'करिब ७/८ दिन हामी मलेसियामा हुन्छौं । त्यहाँको अभ्यास र खेलले हामीलाई निकै मद्दत गर्छ ।'
नेपाली टोली असार २४ गते मलेसिया प्रस्थान गर्ने छ ।
भिडियो :