एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अहिले उपाधि दाबेदार इंग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
बर्मिङघमस्थित एजबस्टन क्रिकेट मैदानमा इंग्ल्याण्डले टस जितेको छ र ब्याटिङ गर्ने निर्णय गरेको छ । केहि बेरमा भारतले बलिङ थाल्नेछ ।
इंग्ल्याण्डविरुद्व जित हासिल गरेको अवस्थामा भारत सेमिफाईनलमा स्थान बनाउनेछ । तर इंग्ल्याण्डको हारले विश्वकपमा उसको अवस्था कठिन मोडमा पुग्नेछ । सेमिफाईनल सम्भावनालाई कायम राख्न इंग्ल्याण्डलाई जितको विकल्प छैन ।
भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । शनिबारको खेलमा पाकिस्तानको जितले समेत घरेलु टोलीमाथि दबाब बढाएको छ ।
विश्वकपमा शानदार प्रर्दशन गरिरहेको भारत प्रतियोगितामा अपराजित छ । माथिल्ला क्रमका ब्याट्सम्यान र बलरको प्रर्दशनले भारतले आफुलाई अब्बल सावित गरिरहेको छ । मध्य क्रमका ब्याट्सम्यान विजय शंकरको स्थानमा आज रिशब पंतले स्थान बनाएका छन् ।
यता प्रतियोगिताको मुख्य दाबेदार मानिएको इंग्ल्याण्डले सुरुवाती ५ खेलमा ४ खेल जितेर आफुलाई अब्बल सावित गरेको थियो । तर श्रीलंका र अष्ट्रेलियाविरुद्व आफुलाई सम्हाल्न नसक्दा घरेलु टोली पराजित हुन पुगेको थियो ।
बाँकी दुई खेलमा एक हारले इंग्ल्याण्डलाई विश्वकप बाहिर समेत राखिदिन सक्नेछ । घरेलु टोलीका लागि खुसीको खबर जोसन रोय फिट भएर मैदान उत्रदैछन् । जोसनले सुरुवाती चार खेलमा २ सय १५ रन बनाएका थिए ।