एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्न तयार भएको छ । रियल पोर्चुगलका कप्तान रोनाल्डोलाई १०५ मिलियन पाउण्डमा इटालियन क्लब युभेन्टसलाई बेच्न राजी भएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
योसंगै रोनाल्डो र युभेन्टसले चार बर्षे सम्झौतामा आजै हस्ताक्षर गर्ने भएका छन् । रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली आजै ग्रिस पुगेका थिए । रोनाल्डो र क्लबबीच ग्रिसमै सम्झौता हुने बताइएको छ ।
यसअघि रोनाल्डो भित्राउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई गत साता ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको थियो । समचार अनुसार रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ । यस्तै रोनाल्डो क्लबमा अनुबन्धित नहुदै इटालीमा रोनाल्डोको नामको युभेन्टस जर्सीको बिक्रि सुरु भईसकेको छ ।
'रोनाल्डो सधै रियल मड्रिडको एक प्रतीकको रुपमा रहनेछ । रियल मड्रिड रोनाल्डोप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छ । जसले हाम्रो क्लब र विश्व फुटबलमा राम्रो छाप बनाएको छ,' रोनाल्डोलाई युभेन्टसमा बेच्न राजी भएपछि रियलले प्रेस विज्ञप्तिमा भनेको छ, 'रियल मड्रिड सधै तपाईको घर हुनेछ ।'
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोको रियलसंगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी रहेको छ । रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए । तर, रोनाल्डो रियलमा खुसी नरहेको र सम्झौता बाँकी रहदै क्लब छाड्ने मनस्थितिमा पुगेको समचारमा उल्लेख छ ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।