एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (आईतबार) भारत र घरेलु टिम ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनलमा स्थान बनाउन दुवै टिमलाई जित महत्वपुर्ण छ ।
बर्मिङघममा हुने खेल दिउँसाे पाैने ३ बजे सुरु हुनेछ ।
ईङ्ल्याण्डविरुद्व जित हासिल गरेको अवस्थामा भारत सेमिफाईनलमा स्थान बनाउनेछ । तर ईङ्ल्याण्डले हारले विश्वकपमा उसको अवस्था कठिन मोडमा पुग्नेछ । सेमिफाईनल सम्भावनालाई कायम राख्न ईङल्याण्डलाई जितको विकल्प छैन ।
भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । शनिबारको खेलमा पाकिस्तानको जितले समेत घरेलु टोलीमाथि दबाब बढाएको छ ।
विश्वकपमा शानदार प्रर्दशन गरिरहेको भारत प्रतियोगितामा अपराजित छ । माथिल्ला क्रमका ब्याट्सम्यान र बलरको प्रर्दशनले भारतले आफुलाई अब्बल सावित गरिरहेको छ ।
मध्यक्रमका ब्याट्सम्यान विजय शंकर र केदार जाधवको अहिलेसम्मको प्रर्दशन भारतका लागि चिन्ताको बिषय बनेको छ । सोही कारण विजय शंकरको स्थानमा भारतीय टिममा दिनेश कात्तिकलाई प्लेईङ ११ मा मौका मिल्न सक्नेछ ।
यता प्रतियोगिताको मुख्य दाबेदार मानिएको ईङ्ल्याण्डले सुरुवाती ५ खेलमा ४ खेल जितेर आफुलाई अब्बल सावित गरेको थियो । तर श्रीलंका र अष्ट्रेलियाविरुद्व आफुलाई सम्हाल्न नसक्दा घरेलु टोली पराजित हुन पुगेको थियो ।
बाँकी दुई खेलमा एक हारले ईङ्ल्याण्डलाई विश्वकप बाहिर समेत राखिदिन सक्नेछ । घरेलु टोलीका लागि खुसीको खबर जोसन रोय फिट भएर भारतविरुद्वको खेलमा मैदान उत्रदैछन् । जोसनले सुरुवाती चार खेलमा २ सय १५ रन बनाएका थिए ।