काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन भएको छ ।
म्यानमारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि खेल तालिका परिवर्तन भएको हो । अर्को साता सुरु हुने प्रतियोगितामा म्यानमार नेपाल रहेको समूह 'ए' मा रहेको थियो ।
अब यस समूहमा नेपालसंगै चीन र सिंगापुर मात्र रहनेछ । अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् ।
खेल तालिका परिवर्तन भएसंगै नेपालले जुलाई ३ मा चीनको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसअघि नेपालको पहिलो प्रतिद्वन्दी म्यानमार रहेको थियो । यस्तै नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुरसंग खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टिमको घोषणा गरिसकेको छ । नेपाल आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
नेपाली टोलीमा चार खेलाडी नयाँ अनुहार रहेका छन् । खड्क बोहोरा, तिलक भण्डारी, विशाल बिक्रम केसी र लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
नेपाली टिम :
रोहित कुमार पौडेल (कप्तान)
रित गौतम
पवन सर्राफ
भिम सार्की
कुशल मल्ल
रशिद खान
कमल सिंह ऐरी
सागर ढकाल
हरि बहादुर चौहान
प्रतिष जिसी
खडक बोहरा
तिलक भण्डारी
बिशाल बिक्रम केसी
लोकेश बम