काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका सदस्य कविता कुँवर 'प्रमोदराज -सावित्री पाण्डे स्मृति सम्मान' बाट सम्मानित भएकी छिन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा कुँवर नगद १५ हजारसहित सम्मानित भएकी हुन् । नेपाली महिला क्रिकेटमा पुर्राएको योगदानलाई कदर गर्दै कुँवरलाई प्रमोदराज -सावित्री पाण्डे स्मृति प्रतिष्ठानले सम्मान गरेको हो ।
कुँवर नेपाली महिला क्रिकेटमा उदयमान खेलाडीको रुपमा चिनिएकी छिन् । कुँवरले गत माघमा थाइल्याण्डमा सम्पन्न टी–२० स्म्यास र फागुनमा आईसीसी वुमन्स विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।
यस्तै प्रतिष्ठानले एभिन्युज टेलिभिजनकी खेल पत्रकार सरिता श्रेष्ठलाई 'प्रमोदराज -सावित्री पाण्डे स्मृति खेल पत्रकारिता' पुरस्कारबाट सम्मानित गरेको छ । प्रतिष्ठानले नगद १५ हजारसहित खेल पत्रकार श्रेष्ठलाई सम्मानित गरेको हो ।
श्रेष्ठ लामो समयबाट खेल पत्रकारितामा सक्रिय रहदै आएकी छिन् । खेल पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पुर्राएको योगदानको कदर गर्दै प्रतिष्ठानले श्रेष्ठलाई सम्मानित गरेको हो ।
यस्तै प्रतिष्ठानले अन्य क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मानित गरेको छ । सम्मानित हुनेमा चलचित्र क्षेत्रका भुवन थापा चन्द, बसुन्धरा भुसाल,साहित्यतर्फ गीता त्रिपाठी र जेहेन्दार बिद्यार्थीमा आपसी प्रझा र मिलन बोगटी रहेका छन् ।
सम्मानित हुने व्यक्तित्वहरुलाई प्रतिष्ठाका अध्यक्ष डाक्टर मनिषराज पाण्डेले सम्मान गरेका थिए । पाण्डे नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व सदस्य समेत हुन् ।
पाण्डेले आफ्ना माता पिताको स्मृतिमा यस प्रतिष्ठानको स्थापना गरेका हुन् ।