काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।
टिसीले मंगलबार भएको खेलमा क्लब इगल्सलाई १ – ० ले हराएको हो । टिसीलाई जित दिलाउन अली अस्फाकले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा अस्फाकले निर्णायक गोल गरेका हुन् ।
माल्दिभ्सको उच्च श्रेणीको लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका किरणले इगल्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । इगल्स टोलीको केहि उत्कृष्ट आक्रमणहरु किरणले बचाएका थिए । किरण अघिल्लो सिजन पनि टिसीबाटै खेलेका थिए ।
यो जितसंगै टिसी लिगको शीर्ष स्थानमा उक्लिएको छ । टिसीले ३ खेलबाट ९ अंक जोडेको छ । ४ अंक जोडेको इगल्स छैटौं स्थानमा छ ।